विदेश

अपडेट

पोर्चुगल कथा-साइप्रस की केटी



आम मान्छेले देख्ने यौटै सम्पन्न जीवनको सपना, जुन सबैको अधिकार समेत हो । हरेक मान्छे सम्पन्न बन्न चाहन्छ । उ चाहन्छ कि उ सँग जीवन जिउनको लागि आधारभूत सबै कुराहरू होउन् । सानो भए पनि आफ्नै घर होस, गाडी होस, बालबच्चाले राम्रो स्कुलमा पढ्न र आवश्यकता परेको ठाउँमा खर्च गर्न धनको अभाव नहोस् ।

हो, यस्तै सोच पुरा गर्ने छोटो बाटो हो वैदेशिक रोजगारी । अचेल खाडी मलेसियालाई वैदेशिक रोजगारी मान्न तयार नै छैनन् मान्छेहरू ।चाहे जतिसुकै ऋण लागोस् उनीहरूलाई युरोप छिर्नु छ । अमेरिका,क्यानडा र अस्ट्रेलिया पछिको आकर्षक गन्तव्य युरोप बनेको छ । 

युरोपको पनि सबैभन्दा सजिलो गन्तव्य पोर्चुगल । हो, यही पोर्चुगलमा पुगेपछि ध्वस्त भएका सपनाहरू र त्यो ध्वस्त सपना भित्र अझै बाँकी रहेका केही आशाका किरणहरूमा कसरी जीवित छन् नेपाली मजदुरहरू-आँखै अगाडी देखिएका दृश्यहरूले कतै कहाली लाग्ने बनाउने अनि कतै आशावादी पनि बनाउने गरेका छन् अचेल ।

सान्तोसबाट काम सकेर राती १२ बजे हुँइकिदै थिएँ काइस दो सोदरे तिर डुङ्गा चढेर घरमा पुग्नको लागि। रेलवे,मेट्रो र पानी जहाजको एउटै स्टेसन छ । धेरै ठुलो त होइन तर चिटिक्क मिलेको तिनै थरी स्टेसन एकै ठाउँ एउटै घरमा भएजस्तो । 

सडक पेटीमै ओछ्यान लागेको समेत देख्न सकिन्छ कताकति। ड्रग एडिक्टहरू रातिसम्म समुद्र किनारमा नाच्छन् र राती त्यहीँ निदाउँछन्। एक दिन अचानक त्यतै बरालिँदै गरेको नेपाली भाइले पाखुरामा च्याप्प समातेर दाइ भन्दै बोलायो । म झसङ्ग भएँ। १२ः१० भएको छ, पाँच मिनेटमा छिर्न नसके डुङ्गा छुट्छ। अर्को डुङ्गा १ बजेर राती मात्रै जान्छ । यो मान्छे सँग बोलेर बसूँ या हात छुटाएर भागूँ ? म दोधारमा हुन्छु ।

 “दाइ दुई युरो दिनु न म केही खान्छु बिहान देखी भोकै छु । म उसको अनुहारमा पुलुक्क हेर्छु। कपाल नकाटेर जिङ्ग्रिङ्ग लामो भएको छ, झुस्स दाह्री बढेका छन्, कति भयो र भाइ तिमी पोर्चुगल आएको? मैले सोधेँ, १० दिन भइसक्यो दाइ न बस्ने ठेगान छ न खाने, आफ्नो कोही छैन यहीँ पेटीमा सुतेको छु-उसले अनायासै भन्यो । 

पेटीमा सुतेको छु भन्ने सुनेर म भावुक भएँ, पेट खाली छ भन्ने कुराले मलाई आहत बनायो।  काइस दो सोदरे पछाडिका मारकादो (किराना पसल) हरू खुल्लै हुन्छन्, त्यतै गएर पाउरोटी किनेर खाएर ज्यान त बचाउला भनेर उसले मागेको दुई मा दुई थपेर चार वटा सिक्का उसको हातमा थमाएँ र म डुङ्गा चढ्न दौडिएँ ।

डुङ्गाको यात्रामा म एकोहोरो घोरिइरहेँ त्यो भाइले केही खायो होला या भोकै होला ? घर पुगेँ, डाइनिङ टेबलमा खाना राखेर बच्चाहरू निदाइसकेका थिए । अलिकति खाना निकालेर खाएँ र म सुतेँ ।

मेरा एक जना परम सहृदयी मित्र छन् प्रवेश पौडेल । म उनलाई बाबा भन्छु र उनी पनि मलाई बाबा भन्छन् ।बिहान कार्यक्षेत्रमा त्यो कहानी उनलाई सुनाएँ । उनले त्यो चार युरो खर्च गरेको मा मलाई गाली गरे—त्यता काइस दो सोदरे तिर नेपाली गजडीहरू र ड्रग एडिक्ट ठगहरूको बिगबिगी रहेछ । राती एकान्त पारेर कामबाट फर्कँदै गरेका नेपालीहरू समातेर पाखुरामा झुन्डिएर रुने र दुई चार युरो मागेर गाँजा तान्ने नेपाली युवाहरू बग्रेल्ती भेटिने रहेछन्। त्यसपछि भने म त्यसरी पैसा माग्नेहरू सँग सजग हुन थालेको छु। तर उसको बारे सिङ्गो कथा लेख्न मन छ । उसलाई भेटेर उसका बा आमाको बारे सोध्न मन छ, मानेछ यदि भने कतै काम खोजेर गर भाइ यसरी बिग्रेर नहिँड भन्न मन छ, उ मेरो कथाको पात्र बन्न सक्छ, उसका दुखहरू सुनेर माला जस्तै उन्न मन छ। 

यो दुखको भवसागर हो । यहाँ पोल्याण्ड, माल्टा या साइप्रसको बाटो हुँदै आउनेहरू अत्याधिक छन् । माल्टा या पोल्याण्डबाट आउनेहरू लाई हेर्ने र साइप्रस बाट आउनेहरू लाई हेर्ने सामाजिक नजर नै भिन्नै छ । साइप्रस बाट प्राय युवतीहरू आउदारहेछन र उनीहरू आफूलाई साइप्रसबाट आएको भनेर चिनाउनै चाहँदैनन् । सामाजिक दृष्टिकोण र आलोचना बाट बच्नको लागि नेपालीहरूले आफ्नै पृष्ठभूमि लुकाएर परिचय नै बदल्न पर्ने बनाएको रहेछ युरोपले त्यो पनि मैले यतै आएपछि थाह पाएँ । 

किन होला साइप्रसबाट आएकाहरूले आफै आएको ठाउँ ढाँट्ने ? मैले एक दिन छिमेकी बैनी सँग सोधेँ । उनले आफूलाई ग्रिस बाट आएको भनेर चिनाउँथिन । एक दिन कुरै कुरामा उनै बैनीले रहस्य खोलिन । दाइ यहाँ त साईप्रस बाट आएको भनेपछि हेप्छन् नि..! म अचम्मित भएँ ! कसरी हेप्छन् ? भन्दा, साइप्रस बाट आएकाहरू अल्लि बढी बाठा या चालु हुन्छन् भन्ने सोच रहेछ ।

झापाली र स्याङ्जाली फटाहा हुन्छन् भनेर काठमाडौँका मान्छे डराएजस्तो यता पनि साइप्रस को दुख भोगिवरी आएकाहरू सँग सङ्गत गर्दा अलिकति सजग हुनुपर्ने हल्ला चलेको रहेछ-साइप्रस वाली बहिनी पनि मेरो कथाकी पात्र बन्न सक्छिन्। उनिभित्र लुकेको सङ्घर्षको त्यो रहस्य खोतली साध्य छैन तर पनि उनका भावना समेटेर म यौटा भिडियो बनाउने सोचमा छु। 

यहाँ आएको केही समय मैले एग्रिकल्चर फिल्डमा काम गरेँ। लिस्बनबाट झन्डै चार घण्टाको बस यात्रा पछि पुगिने गाउँमा । हजारौँ आप्रवासीहरू कृषि फार्ममा कार्यरत रहेका । मेहनतको काम हुने र पैसा पनि राम्रै पाइने । गाउँको बसाई भएको कारण खर्च कम हुने भनेर अधिकांश युवा युवतीहरू त्यतै हानिइएको पनि देखियो। 

अग्रिकल्चर मा काम गरे कार्ड छिटो बन्छ रे भन्ने हल्ला पत्याएर उता पुग्नेहरू पनि धेरै नै भेटेँ। त्यहीँ अलमगराभ भन्ने ठाउँको द समरबेरी कम्पनीमा म आफै हार्भेस्ट सुपरभाइजर भएर काम गरेँ झन्डै एक वर्ष ।

धेरै नजिकबाट त्यहाँको नेपाली समाजलाई नियाल्न पाउँदा सुरुमा त रमाइलै लाग्यो तर बिस्तारै जब त्यही समाजसँग भिज्दै गएँ, बोल्दै सँगै डुल्दै जाँदा थाह भयो अलिकति माथिल्लो पोस्टमा पुगेका नेपालीहरूले तल्लो तहमा काम गर्नेलाई कसरी हेप्छन् । म आफै सुपरभाइजर हुँदा मेरा केही हाकिमहरू नेपाली थिए । विदेशी हाकिम र नेपाली हाकिमको बिचको चुरीफुरीको अन्तर बारे पनि यौटा भिडियो बनाउन मन छ । आखिर किन अनर्गल चर्को स्वभावका हुन्छन् नेपाली हाकिमहरू भनेर एक जना हाकिमलाई बोलाएर अन्तरवार्ता गर्न मन छ।

अलि पुराना नेपालीले  भर्खर आएका नेपालीहरूलाई कसरी ठग्छन् (सबै ठग हुँदैनन्) भन्ने कुरा को पनि सिङ्गै कथा बन्न सक्छ। लिगल इन्ट्री देखी नै ठगिन थालेका नव आगन्तुकहरू फिनान्स, सोसल, वर्क कन्ट्र्याक, घर ठेगाना हुँदै सेफ इन्ट्री सम्म पुग्दा कसरी कहाँकहाँ कति कति ठगिन्छन् भनेर त्यसैको भुक्तभोगीलाई बोलाएर घण्टौँ गफ गरेर उसको कथा उसकै मुखबाट सुनाइदिन मन छ । 

जसलाई भेट्थेँ उ नै मेरो एउटा सिङ्गो कथाको पात्र जस्तो लाग्थ्यो ।अझ यौटै कथामा उसको सिङ्गो कहानी अटाउने हिम्मत नै हुँदैनथ्यो मलाई ।यहाँ आउने बित्तिकै स्तन क्यान्सरको शङ्कामा उपचार गराएर निको भएकी एक जना बैनीलाई जागिर लगाईदिदाको क्षण होस या कामै नगरी महिनौँ खाली बसेर पनि स्तरीय जीवन बिताई रहेका दिदीबहिनी भेट्दाको क्षण किन नहोस् मैले तिनीहरू सबैमा आफ्नो कथाको पात्र भेटाइरहेँ र हरेक को जीवन शैलीमा यौटा उपन्यास नै बनाउन सक्ने गरी कल्पनाहरू गरिरहेँ-तर बसेर लेख्ने फुर्सद मिले पो त !


साहित्यमा रुचि राख्ने, केही मुक्तकहरू पनि लेख्ने र आफूलाई गजलकारको रूपमा चिनाउन चाहने एक जना दिदी सँग सँगै केही समय एउटै घरमा भाडामा बस्ने मौका मिल्यो । वहाँको सोच र उमेर नितान्त विपरीत थियो । २४ वर्षको छोरा र १९ वर्षकी छोरी कि आमा भएर पनि “म युरोप मा छु र मेरो स्वतन्त्रता मेरो अधिकार” भन्ने कुरामा अत्यन्तै कन्फिडेन्ट र अडिग ती दिदीको बारेमा पनि कथा त राम्रो बन्छ ।स्वतन्त्रताको उपभोगको बारे यौटा एक घण्टा लामो भिडियोमा आएर बोल्दिनुस् न दिदी भनेर अनुरोध गर्न मन छ। 

लामो समय देखी यतै व्यवसाय गरेर बस्नुभएका व्यवसायी साथीहरू अनि कर्पोरेट हाउसमा एचआर सम्मको पोस्टमा पुगेका साथीहरू पनि भेटिनुभयो तर वहाँहरूको बारेमा लेखिहालौँ या भिडियो नै बनाइहालौँ भन्ने त्यस्तो खासै केही लागेन । म आफै बसेको टोलमा पनि केही नेपाली पसलहरू र होटेलहरू छन् उनीहरू सँग मेरो राम्रो सङ्गत भएको छ, सङ्घर्ष उनीहरूको पनि लामै छ तर उनीहरू निकै सामान्य र सरल देखिन्छन् । मेरो कथाको पात्र बन्नुस् न म सुन्छु र लेख्छु भन्न मन छ । समयले साथ दिएमा उनीहरू कसरी सफल बने त्यो पनि लेख्नेछु या भिडियोमा खिच्नेछु कुनै दिन । 

-दुर्गा पंगेनी ।




 


 

  

कोई टिप्पणी नहीं